काठमाडौँ। नेपाल आयल निगमले कच्चा तेल (क्रुड आयल) को मूल्यसँग तुलना गरेर नेपालमा पेट्रोलियम पदार्थ महँगो भएको भन्ने विश्लेषण भ्रामक रहेको जनाएको छ । निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा नेपालमा खुद्रा बिक्री मूल्य निर्धारण हुने स्पष्ट पारेको हो ।
निगमका प्रवक्ता मनोज ठाकुरले नेपालसँग आफ्नै रिफाइनरी नभएकाले कच्चा तेल आयात नगरी सोझै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता रहेको बताए ।
उनले “क्रुड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ । त्यसैले मूल्य तुलना गर्दा कच्चा तेल होइन, प्रशोधित पेट्रोलियम पदार्थकै अन्तर्राष्ट्रिय मूल्य हेर्नुपर्छ,” भने ।
निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । आईओसीबाट प्राप्त पेट्रोल र डिजेलको खरिद मूल्यका आधारमा नेपालमा हरेक १५ दिनमा मूल्य समायोजन हुँदै आएको निगमले जनाएको छ ।
निगमका अनुसार १६ अप्रिल २०२६ मा क्रुड आयलको मूल्य प्रतिव्यारेल ९९.६ अमेरिकी डलर, पेट्रोल १३९.३ डलर र डिजेल २२८.१ डलर थियो । त्यस्तै २ अप्रिलमा सबैभन्दा उच्च मूल्य पुगेको थियो, जहाँ क्रुड आयल ११८.३ डलर, पेट्रोल २६२ डलर र डिजेल ३३४.४ डलर प्रतिव्यारेल पुगेको थियो ।
सामान्य अवस्थामा क्रुड आयल र पेट्रोलबीच करिब १० डलर तथा क्रुड आयल र डिजेलबीच करिब २० डलर अन्तर रहने भए पनि पछिल्लो समय यो अन्तर क्रमशः १४४ डलर र २१६ डलरसम्म पुगेको निगमले जनाएको छ ।
निगमका अनुसार भन्सार, कर, ढुवानी, बीमा, भण्डारण तथा सेवा शुल्कले पनि अन्तिम खुद्रा मूल्य निर्धारणमा प्रभाव पार्छ ।
निगमले वैशाख ३ गतेदेखि डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।
हाल डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि २३६ रुपैयाँ र तेस्रो वर्गका लागि २३७ रुपैयाँ तोकिएको छ ।
मूल्यवृद्धिपछि पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा भइरहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य दैनिक बढिरहेकाले १५ दिनमा करिब ५ अर्ब ७५ करोड रुपैयाँ घाटा हुन सक्ने प्रवक्ता ठाकुरले बताएका छन् ।