काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका कुशल बैंकर तारा मानन्धरलाई मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ । बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलको कार्यकाल २०८३ वैशाख मसान्तमा समाप्त हुन लागेपछि बैंकले आगामी नेतृत्वका लागि मानन्धरलाई जिम्मेवारी सुम्पिएको हो ।
बैंकको सञ्चालक समितिको तीन सय ७१ औं बैठकले स्याङ्जा जिल्ला हरिनास गाउँपालिकाका स्थायी बासिन्दा तथा हाल टोखा नगरपालिका–३ निवासी मानन्धरलाई २०८३ जेठ १ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली बैंकिङ क्षेत्रमा लामो समयदेखि सक्रिय मानन्धरलाई कुशल, अनुभवी र परिणाममुखी नेतृत्वका रूपमा लिइन्छ । हाल उनी डिसहोममा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन्, जहाँ उनले करिब २२ महिनासम्म काम गर्दै संस्थागत सुधार, सेवा विस्तार र व्यवस्थापनमा उल्लेखनीय योगदान दिएका छन् ।
राष्ट्रियस्तरका विकास बैंकहरूमध्ये सबैभन्दा ठूलो, सुदृढ र सक्षम संस्थाका रूपमा स्थापित मुक्तिनाथ विकास बैंकको नेतृत्व सम्हाल्न लागेका मानन्धरप्रति बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरूका अपेक्षा उच्च देखिएको छ । उनको नेतृत्वमा बैंकले अझै नयाँ उचाइ हासिल गर्ने विश्वास गरिएको छ ।
बैंकिङ क्षेत्रको गहिरो ज्ञान, व्यवस्थापकीय दक्षता र दूरदर्शी सोचका कारण मानन्धरको कार्यकालमा मुक्तिनाथ विकास बैंकले सेवा, नवप्रवर्तन र वित्तीय पहुँच विस्तारमा थप उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।