शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाली कांग्रेसद्वारा विभिन्न समिति गठन, प्रतिष्ठान प्रमुखमा विश्वप्रकाश शर्मा नियुक्त

बिहिबार, बैशाख ३ २०८३

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका विभिन्न संरचना सुदृढ गर्न अनेक समिति गठन गर्ने निर्णय गरेको जनाएको छ। बैठकले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति विश्वप्रकाश शर्मालाई नियुक्त गर्ने निर्णय गरेको बताइएको छ।

सभापति गगनकुमार थापाको सभापतित्वमा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले निर्वाचन ब्यूरोको संयोजकमा उपसभापति पुष्पा भुसाललाई तोकेको जनाएको छ। त्यसैगरी सदस्यता व्यवस्थापन केन्द्रीय समितिको संयोजकमा महामन्त्री प्रदीप पौडेल तथा सदस्यमा सहमहामन्त्री योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेहीलाई जिम्मेवारी दिइएको जानकारी दिइएको छ।

बैठकले सङ्गठन परिचालन तथा समन्वय समितिको संयोजकमा महामन्त्री गुरुराज घिमिरेलाई चयन गरेको र सदस्यमा बहादुरसिंह लामा तथा मुक्ताकुमारी यादवलाई राखिएको उल्लेख गरेको छ। साथै, केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा अन्य राजनीतिक दलसँग संवाद गर्ने समिति गठन गरिएको र मर्यादाक्रम निर्धारण समितिको संयोजकमा चिनकाजी श्रेष्ठलाई जिम्मेवारी दिइएको बताइएको छ।

पार्टीभित्र एकता कायम गर्दै १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न सबै पक्षसँग संवाद गर्ने जिम्मेवारी सभापति थापालाई दिने निर्णय भएको पनि बैठकले जनाएको छ।

त्यसैगरी ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि–२०८३’ लाई प्रदेश तथा जिल्ला समितिका सुझाव समेटेर जेठ १ गतेदेखि लागू गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ। बैठकमा गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदनबारे यदुनाथ खनाल संयोजक रहेको समितिले पेस गरेको प्रतिवेदनमाथि विस्तृत छलफल भएको बताइएको छ।

बैठकमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायत केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेको जनाइएको छ।

केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने तय भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।