झापा । बिर्तामोड नगरपालिका–४ मा सञ्चालनमा रहेका दुई उद्योगमा आज बिहान भीषण आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्का का अनुसार बिहान करिब ४:१५ बजे झापाली चिप्स फ्याक्ट्री र सौगात काष्ठ फर्निचर मा एकैसाथ आगलागी भएको हो। उक्त उद्योगहरू क्रमशः भक्तिप्रसाद उप्रेती र चन्द्रप्रसाद खरेलले सञ्चालन गर्दै आएका थिए।
आगलागीका कारण दुवै उद्योगका कच्चा पदार्थ, तयारी सामग्री तथा मेसिनरी पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड, सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरे को टोली, साथै भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका र बिर्तामोड नगरपालिकाका दमकल तथा स्थानीयवासीको सहयोगमा केहीबेरअघि आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीको कारण हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।