काठमाडौँ । जैविक विविधता र अमूल्य जडीबुटीका दृष्टिले नेपाल विश्वमै समृद्ध देश मानिए पनि स्वदेशमै यसको पर्याप्त उपयोग नहुँदा आर्थिक समृद्धिको सम्भावना पूर्ण रूपमा साकार हुन सकेको छैन।
वनस्पति क्षेत्रका जानकार, व्यवसायी तथा सरोकारवालाहरूका अनुसार कच्चा पदार्थका रूपमा निर्यात हुँदै आएको जडीबुटीलाई प्रशोधन गरी ब्रान्डिङ गर्न सके देशको अर्थतन्त्र बलियो बनाउन सकिन्छ। उनीहरूका अनुसार उपलब्ध स्रोतको उचित प्रयोग गर्दै स्वदेशमै आयुर्वेद अस्पताल र औषधि उद्योग विस्तार गर्न सकिने ठूलो सम्भावना छ।
वनस्पति विभाग का अनुसार नेपालमा ८१९ प्रजातिका जडीबुटी पहिचान भएका छन्, जसमध्ये ३३ प्रजाति आर्थिक दृष्टिले प्राथमिकतामा छन्। हाल करिब १२० प्रजातिको खेती भइरहेको छ भने २०० भन्दा बढी प्रजातिबाट सुगन्धित तेल उत्पादन गर्न सकिन्छ।
तर, निर्यात हुने जडीबुटीमध्ये करिब ९० प्रतिशत कच्चा रूपमै विदेशिने गरेको छ, जसका कारण अपेक्षित मूल्य अभिवृद्धि हुन सकेको छैन। विश्व बजारमा नेपालको हिस्सा अत्यन्त न्यून—करिब ०.००६ प्रतिशत मात्र रहेको छ। गत आर्थिक वर्षमा करिब रु दुई अर्ब चार करोड बराबरको जडीबुटी निर्यात भएको निकासी प्रवद्र्धन केन्द्र ले जनाएको छ।
विभागका महानिर्देशक सञ्जीवकुमार राई का अनुसार संरचना सुदृढीकरण, नवीन प्रविधि प्रयोग, अनुसन्धान तथा निजी–सामुदायिक सहकार्य विस्तारमार्फत जडीबुटी क्षेत्रलाई आर्थिक वृद्धिको मुख्य आधार बनाउन सकिन्छ। स्वदेशमै प्रशोधन गरी औषधि उत्पादन गर्न सके समृद्धिको बलियो आधार तयार हुने उनको भनाइ छ।
यसैगरी जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड ले पामारोजा, लेमनग्रास, सिट्रोनेला, मेन्था र केमोमाइलबाट औषधि तथा तेल उत्पादन गर्दै आएको छ। ‘सन्चो’, ‘हिमालयन मसाज आयल’ र ‘शिलाजित पेस्ट’ जस्ता उत्पादन बजारमा उपलब्ध भए पनि उच्च उत्पादन लागतका कारण ठूलो परिमाणमा उत्पादन गर्न कठिन भएको कम्पनीको भनाइ छ।
सामुदायिक वन उपभोक्ता महासङ्घ का अध्यक्ष ठाकुरप्रसाद भण्डारी ले कानुनी जटिलता, बजार व्यवस्थापनको अभाव तथा सहजीकरण नहुँदा जडीबुटी उत्पादन र ओसारपसारमा समस्या देखिएको बताएका छन्। उनले उचित अनुदान र नीति सुधार भएमा यस क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान पुर्याउन सक्ने धारणा राखेका छन्।
वनस्पति विज्ञ नवीन जोशी का अनुसार जडीबुटीको प्रशोधन र ब्रान्डिङमार्फत उच्च मूल्य प्राप्त गर्न सकिन्छ। उनले नेपालका हिमाली वन र घाँसे मैदान विश्वका उत्कृष्ट जैविक विविधता केन्द्र भएको उल्लेख गर्दै स्रोतको दिगो व्यवस्थापन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय बजारसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
त्यसैगरी नेपाल चेम्बर अफ कमर्स का अध्यक्ष कमलेशकुमार अग्रवाल ले जडीबुटी क्षेत्रलाई औद्योगिक उत्पादन र निर्यातको मुख्य आधार बनाएर मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्।