बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

दोस्रो आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा, वैशाख २ देखि देशभर सञ्चालन

आइतबार, चैत्र २९ २०८२

काठमाडौँ । दोस्रो आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा भई अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय का अनुसार देशभर गणक तथा सुपरिवेक्षकहरू सम्बन्धित क्षेत्रमा खटिइसकेका छन्।

निर्धारित कार्यतालिकाअनुसार आगामी वैशाख २ गतेदेखि देशव्यापी रूपमा आर्थिक गणना सुरु हुनेछ। स्थलगत तथ्याङ्क सङ्कलनको काम असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले उद्योग, व्यवसाय तथा सरोकारवाला सबैलाई सक्रिय रूपमा सहभागी भई सहयोग गर्न आग्रह गरेका छन्। उनले आर्थिक तथा औद्योगिक क्षेत्रसँग सम्बन्धित यथार्थ तथ्याङ्क सङ्कलनका लागि यो अभियान महत्त्वपूर्ण रहेको उल्लेख गरे।

गणनाअन्तर्गत आर्थिक क्षेत्रका १८ विधाका आधारभूत विवरण सङ्कलन गरिनेछ। उद्योग, व्यापार, सेवा, सहकारी तथा सार्वजनिक–निजी संस्थाको सङ्ख्या, प्रकृति, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी तथ्याङ्क समेटिने उद्देश्य रहेको छ।

दर्ता भएका तथा नभएका साना–ठूला व्यवसाय, स्वरोजगार प्रतिष्ठानदेखि लिएर उद्योग, कलकारखाना, गैरसरकारी संस्था, सरकारी निकाय, विद्यालय र अस्पतालसम्मको विवरण सङ्कलन गरिनेछ।

तयारीका प्रारम्भिक चरणका काम फागुन मसान्तमै सम्पन्न भइसकेका छन् भने चैतको सुरुदेखि नै ७७ जिल्लासहित थप सात गरी ८४ कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ। ती कार्यालयहरू असार मसान्तसम्म सक्रिय रहनेछन्।

कार्यालयले सबै सरोकारवालालाई सही र पूर्ण विवरण उपलब्ध गराई राष्ट्रिय अभियानलाई सफल बनाउन आह्वान गरेको छ। आर्थिक गणना समग्र देशको आर्थिक अवस्थाको चित्रण गर्ने महत्वपूर्ण आधार भएकाले यसमा सबैको सहभागिता आवश्यक रहेको बताइएको छ।

यसअघि २०७५ सालमा गरिएको आर्थिक गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो।