काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा मात्र नभई राष्ट्र निर्माणको अभिन्न साझेदार तथा देशको ‘आर्थिक इन्जिन’ का रूपमा हेर्नुपर्ने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती (७५ औँ वर्ष) का अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्र सबल भए मात्र देशको अर्थतन्त्र सबल हुने धारणा व्यक्त गरे ।
उनले नेपालको निजी क्षेत्रले देखाएको संघर्ष, समर्पण र उपलब्धिको प्रशंसा गर्दै मुलुकको आर्थिक समृद्धिमा चेम्बर अफ कमर्सले पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।
कोभिड महामारी, आपूर्ति शृङ्खलामा आएको अवरोध र उत्पादनमा आएको गिरावटका कारण अर्थतन्त्रमा चुनौतीहरू देखिएको उल्लेख गर्दै राष्ट्रपतिले यस्तो अवस्थामा सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिए।
देशको भविष्य युवा पुस्ताको हातमा रहेको भन्दै राष्ट्रपति पौडेलले ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) रोक्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने बताए । उनले उद्यमशीलता, प्रविधि र सृजनशीलतामार्फत युवालाई आर्थिक गतिविधिमा जोड्नु आजको प्रमुख आवश्यकता भएको औंल्याए।
राष्ट्रपतिले परम्परागत सोचभन्दा बाहिर निस्केर नवप्रवर्तन, डिजिटल अर्थतन्त्र, हरित विकास र स्टार्टअप संस्कृतिको विकासमा जोड दिन आह्वान गरे ।
त्यसैगरी, संघीय सरकार, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्दै विकास प्रक्रियालाई तीव्र बनाउनुपर्ने र सरकार तथा निजी क्षेत्र मिलेर सुशासनमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा पनि उनले जोड दिए ।