काठमाडौँ । नेपालमा दूरसञ्चार सेवाको गुणस्तर सुधारका लागि लामो समयदेखि उठिरहेका गुनासोका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका ठोस प्रयास सुरु भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना को निर्देशनअनुसार कम्पनीले ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार र प्रशासनिक प्रक्रियामा सुधार ल्याउने उद्देश्यले व्यापक रूपान्तरण सुरु गरेको हो।
सञ्चार मन्त्रालयले ‘नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली’ लागू गर्ने दृष्टिकोनअनुसार १० बुँदे सुधारात्मक कार्ययोजना ल्याएको छ। यस योजनामा नेपाल टेलिकमको सेवा सुधारलाई प्राथमिकतामा राखिएको छ। योजना अनुसार ग्राहक सेवालाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ। विगतमा सेवा अवरोध, ढिलो प्रतिक्रिया, अनावश्यक प्रक्रियागत झन्झट र ग्राहकको गुनासो समाधानमा ढिलाइजस्ता समस्या बारम्बार उठेका थिए। यी समस्या समाधान गर्न अहिले मन्त्रालय र कम्पनी दुवैले समन्वयात्मक रूपमा काम गरिरहेका छन्।
नेपाल टेलिकमका ग्राहकहरूले लामो समयदेखि डाटा प्याकेज सकिँदा स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने समस्याबारे गुनासो गर्दै आएका थिए। अब यो प्रणाली समाप्त गरिएको छ। यसको सट्टा ग्राहकले आफैं निर्णय गर्न सक्ने पारदर्शी विकल्प पाउनेछन्। ग्राहकले लिएको डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिइनेछ, जसले बाँकी डाटा कति छ भन्ने जानकारी समयमै उपलब्ध गराउँछ। साथै, ‘पे–एज–यू–गो’ (PAYG) सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई प्याकेजबिना पनि आवश्यकताअनुसार इन्टरनेट प्रयोग गर्न सक्ने सुविधा दिन्छ। ग्राहकले नयाँ प्याकेज लिने वा सिधै PAYG मोडमा जाने निर्णय आफैं गर्न सक्नेछन्।
नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धर अनुसार यो प्रणाली हाल परीक्षण चरणमा रहेको छ र केही दिनभित्रै पूर्ण रूपमा लागू हुनेछ। USSD मार्फत खरिद गरिने डाटा प्याकमा यो सुविधा ३–५ दिनभित्र लागू हुने छ भने मोबाइल एप प्रयोग गर्ने ग्राहकका लागि ७–१० दिनभित्र कार्यान्वयनमा आउनेछ। यसले डिजिटल माध्यममार्फत सेवा प्रयोग गर्ने ग्राहकहरूलाई अझ सहज अनुभव दिने विश्वास लिइएको छ।
ग्राहक सेवा प्रक्रियालाई सरल र प्रभावकारी बनाउन ‘वन टाइम KYC’ प्रणाली पनि लागू गरिनेछ। यसबाट ग्राहकले एकपटक मात्र आफ्नो विवरण बुझाएपछि भविष्यमा फेरि विवरण पेश गर्नुपर्ने झन्झट अन्त्य हुनेछ। यसअघि सिम कार्ड लिन, नवीकरण गर्न वा अन्य सेवा लिन जाने क्रममा बारम्बार कागजात पेश गर्नुपर्ने बाध्यता थियो। नयाँ प्रणाली लागू भएपछि सेवा प्रक्रिया छिटो, सरल र झन्झटरहित हुनेछ। यो प्रणाली आगामी ३० दिनभित्र कार्यान्वयनमा ल्याइसक्ने लक्ष्य राखिएको छ।
डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै नेपाल टेलिकमले ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति र सिम स्वामित्व हस्तान्तरणजस्ता सेवाहरू पूर्ण रूपमा अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी पनि तीव्र बनाएको छ। यसले विशेषगरी दुर्गम क्षेत्रका ग्राहकलाई राहत दिने अपेक्षा गरिएको छ। साथै कार्यालयमा हुने भीड घटाउने र सेवा वितरणलाई थप व्यवस्थित बनाउने योजना छ।
ग्राहक सेवा सुधारकै अर्को महत्वपूर्ण पक्षका रूपमा ‘एकल विन्दु सेवा’ सहायता कक्ष स्थापना गरिने योजना अघि सारिएको छ। मन्त्रालयको कार्ययोजनाअनुसार नेपाल टेलिकमका सबै कार्यालयमा यस्तो सहायता कक्ष स्थापना गरिनेछ, जसले ग्राहकलाई एउटै ठाउँबाट आफ्ना सबै समस्याको समाधान प्राप्त हुने सुविधा दिनेछ। यसले विभिन्न काउन्टर धाउनुपर्ने बाध्यता हटाउने र सेवा प्राप्तिको समय घटाउने अपेक्षा गरिएको छ।
त्यस्तै, फोरजी मोबाइल नेटवर्क सेवाको गुणस्तर सुधारको काम पनि भइरहेको छ। देशका विभिन्न स्थानमा कमजोर फोरजी सेवा सम्बन्धी गुनासो व्यापक रूपमा उठेको छ। यस समस्यालाई समाधान गर्न नीतिगत व्यवस्था परिमार्जन गर्ने र थप फ्रिक्वेन्सी उपलब्ध गराउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। आगामी ३० दिनभित्र आवश्यक नीतिगत सुधार सम्पन्न गरी सेवा गुणस्तरमा सुधार ल्याउने लक्ष्य राखिएको छ।