भक्तपुर । सार्वजनिक शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी परिसर भक्तपुरले शनिबार सञ्चालन गरेको ‘स्वीप अप्रेसन’का क्रममा ६० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काका अनुसार पक्राउ परेकामाथि आवश्यक छानबिन गरी विभिन्न कसुरमा मुद्दा चलाइने तयारी गरिएको छ।
ठिमी र जगाते प्रहरी वृत्तसहित जिल्लाका विभिन्न प्रभाग तथा युनिट परिचालन गरी सञ्चालन गरिएको अप्रेसनमा सार्वजनिक स्थलमा शान्ति भङ्ग गर्ने, शङ्कास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने तथा समूहमा बसेर होहल्ला र अनुचित क्रियाकलाप गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नजिकिँदै गरेको बिस्केट जात्रालाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले पनि उक्त अप्रेसन सञ्चालन गरिएको हो।