भैरहवा । रुपन्देहीको शुद्धोधन गाउँपालिका–१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलले १५ वर्षीय एक किशोरलाई घटनामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तव का अनुसार गत चैत २ गते राति आफ्नै पसलमा सुतिरहेकी पटवामाथि कैची प्रहार गरी हत्या गरिएको थियो। पक्राउ परेका किशोर मृतककै छिमेकी रहेको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानका क्रममा किशोरले लागुऔषध किन्न पैसा अभाव भएपछि चोरी गर्ने उद्देश्यले पसलमा प्रवेश गरेको र सो क्रममा विवाद हुँदा हत्या गरेको बयान दिएको बताइएको छ।
प्रहरीका अनुसार मध्यरातमा भएको उक्त घटनामा किशोरले मृतकको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध कैची प्रहार गरेका थिए। घटनापछि फरार रहेका उनलाई प्रहरीले गत शनिबार पक्राउ गरेको हो।
पक्राउ परेका किशोरमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत रुपन्देही बाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।