बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान सुरु

सोमबार, चैत्र ९ २०८२

काठमाडाैं । पोखरामा आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले ‘जाउँ है पोखरा’ अभियान सुरु गरिएको छ। होटेल सङ्घ नेपाल पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको सहकार्यमा सुरु भएको यो कार्यक्रम आजदेखि चैत १३ गतेसम्म सञ्चालन हुनेछ।

विगत २२ वर्षदेखि सञ्चालन हुँदै आएको यस अभियानअन्तर्गत वीरगञ्ज, हेटौँडा, विराटनगर, इलामलगायत पूर्वी नेपालका सहरहरूमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम गरिने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी ले जानकारी दिए। अभियानमा पोखराका पर्यटन तथा होटेल व्यवसायी र सञ्चारकर्मी सम्मिलित १९ सदस्यीय टोलीले पूर्वी क्षेत्रका व्यवसायीसँग छलफल, अन्तरक्रिया तथा साझेदारी विस्तार गर्नेछन्। साथै, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि आकर्षक प्याकेजहरू पनि सार्वजनिक गरिनेछ।

अभियानकै क्रममा नयाँ वर्षको अवसरमा आयोजना हुने फेवा नव वर्ष महोत्सव मा सहभागी हुन पूर्वी नेपालका नागरिकलाई निमन्त्रणा दिइनेछ। उक्त महोत्सव चैत २९ देखि वैशाख १ गतेसम्म फेवाताल किनारको लेकसाइड क्षेत्रमा आयोजना हुनेछ, जहाँ नेपाली कला, संस्कृति र खानालाई प्राथमिकता दिइन्छ।

मणिराज लामिछाने का अनुसार पोखरालाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न यस्तो अभियानले महत्त्वपूर्ण भूमिका खेल्नेछ। साथै, पोखरा र पूर्वी नेपालबीचको पर्यटन सम्बन्ध विस्तार गर्ने, भद्रपुर र विराटनगरसम्मको सिधा हवाई सेवा पुनः सञ्चालन गर्ने तथा स्तरीय पर्यटक बस सेवा सुरु गर्ने प्रस्तावसमेत अघि बढाइनेछ।

पोखराको होटेल क्षेत्रमा करिब ६ खर्ब रुपैयाँ लगानी रहेको र झण्डै १,२०० होटेल सञ्चालनमा रहेको जनाइएको छ। यस क्षेत्रबाट करिब १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्, जसले पर्यटन क्षेत्रको आर्थिक महत्त्वलाई थप उजागर गरेको छ।