शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सभापति थापाको राजीनामाले कांग्रेस बैठकको एजेन्डा फेरियो, आज बस्दै केन्द्रीय समिति

शुक्रबार, चैत्र ६ २०८२

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पटक बस्न लागेको यो बैठकलाई पार्टीभित्र निकै महत्त्वका साथ हेरिएको छ ।

निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्ने मुख्य एजेन्डासहित बैठक बोलाइएको भए पनि बैठकअघि नै सभापति गगन कुमार थापा ले पदबाट राजीनामा दिएको विषयले एजेन्डा फेरिएको छ ।

सभापति थापाले बुधबार आफ्नो राजीनामापत्र उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाएका थिए । उक्त राजीनामाको विषय पनि आजको बैठकमा प्रमुख रूपमा उठ्नेछ । यसअघि नै उपसभापति शर्माले सभापतिको राजीनामा अस्वीकृत गरिने बताएका छन्, तर अन्तिम निर्णय भने केन्द्रीय कार्यसमितिको छलफलपछि हुने जनाइएको छ ।

विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति बनेका थापाको राजीनामापछि आजको बैठकको सभापतित्व पहिलो पटक उपसभापति शर्माले गर्नेछन् ।

उपसभापति पुष्पा भुसाल का अनुसार बैठकमा निर्वाचनको गहन समीक्षा गरिनेछ । साथै, उपसभापति शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।