पुराना दलमा हारको कारण खोज्दै समीक्षा
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नेपालमा नयाँ राजनीतिक समीकरण निर्माण हुने क्रम जारी छ। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै अहिले सबैको ध्यान नयाँ सरकार गठनतर्फ केन्द्रित भएको छ। विशेषगरी बालेन्द्र शाह (बालेन ) नेतृत्वमा सरकार बन्ने चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक सफलता हासिल गरेपछि नयाँ सरकार गठनको आधार तयार भएको हो। प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ भने समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ। यसरी पार्टीले जम्मा १८२ सिट हासिल गरेको छ। यो संख्या प्रतिनिधिसभामा दुईतिहाइ बहुमत नजिकको हो, जसले रास्वपालाई एक्लै सरकार गठन गर्न पर्याप्त आधार दिएको मानिएको छ।
यो परिणाम नेपालका लागि नयाँ राजनीतिक परिवर्तनको संकेत मानिएको छ। विगतमा लामो समयदेखि सत्ता सञ्चालन गर्दै आएका पुराना दलहरूलाई पछाडि पार्दै रास्वपा ठूलो शक्तिका रूपमा उदाएको छ। यसले नेपाली राजनीतिमा नयाँ पुस्ताको उदय र परिवर्तनको चाहना झल्काएको बताइन्छ।
सरकार गठनको संवैधानिक प्रक्रिया भने निश्चित चरणहरू पूरा भएपछि मात्रै अघि बढ्छ। नेपालमा प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि निर्वाचन आयोगले आधिकारिक विवरण राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने व्यवस्था छ। त्यसपछि नयाँ प्रतिनिधिसभा गठन हुन्छ र संसद्को पहिलो बैठक बस्छ।
संसद् गठन भएपछि सबैभन्दा ठूलो दलले आफ्नो संसदीय दलको नेता चयन गर्छ। त्यही दलका संसदीय दलको नेतालाई संविधानअनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढ्छ। यही प्रक्रियाअनुसार अहिले रास्वपाले संसदीय दलको नेता चयन गर्ने तयारी गरिरहेको बताइएको छ।
रास्वपाले पहिले नै बालेन्द्र (बालेन) शाह लाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ। पार्टीभित्र पनि उनलाई नेतृत्व दिनुपर्ने सहमति बनिसकेको बताइन्छ। त्यसैले संसदीय दलको नेता चयन भएपछि बालेन शाह प्रधानमन्त्री बन्ने सम्भावना बलियो रहेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
नयाँ सरकार गठनसँगै बन्ने मन्त्रिमण्डल कस्तो हुन्छ भन्ने विषय पनि चर्चा र चासोको केन्द्रमा छ। प्रारम्भिक रूपमा बाहिर आएका सूचनाअनुसार बालेन नेतृत्वको सरकारले सानो, छरितो र कार्यक्षम मन्त्रिमण्डल बनाउने सम्भावना रहेको बताइएको छ।
रास्वपाले युवापुस्ताका दक्ष तथा व्यावसायिक क्षमता भएका व्यक्तिहरूलाई सरकारमा ल्याउने संकेत दिएको छ। प्रशासनिक सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा प्रभावकारी बनाउने विषयलाई सरकारको प्राथमिकतामा राखिने चर्चा छ। यसले परम्परागत शैलीभन्दा फरक ढंगले सरकार सञ्चालन गर्ने प्रयास हुने अपेक्षा गरिएको छ।
यस पटकको निर्वाचन परिणाम किन यस्तो आयो भन्ने विषयमा पनि विभिन्न विश्लेषणहरू भइरहेका छन्। विगतका वर्षहरूमा पुराना दलप्रति जनतामा बढ्दो असन्तुष्टि देखिएको थियो। राजनीतिक अस्थिरता, भ्रष्टाचारका आरोप र विकासको अपेक्षाअनुसार परिणाम नआएको भन्दै जनताले विकल्प खोज्न थालेका थिए।
यही पृष्ठभूमिमा युवाहरूको सक्रियता, सामाजिक सञ्जालमार्फत गरिएको अभियान र नयाँ राजनीतिक सोचका कारण रास्वपाले व्यापक समर्थन पाएको बताइन्छ। परिवर्तनको चाहना बोकेका मतदाताले नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने निष्कर्षमा पुगेको विश्लेषण गरिएको छ।
यसरी निर्वाचनको परिणामसँगै अब नेपालमा नयाँ राजनीतिक अध्याय सुरु हुने संकेत देखिएको छ। यदि संवैधानिक प्रक्रिया अनुसार सबै चरण पूरा भए भने चाँडै नै बालेन शाह नेतृत्वको नयाँ सरकार गठन हुने अपेक्षा गरिएको छ। नयाँ सरकारबाट जनताले सुशासन, पारदर्शिता र विकासको क्षेत्रमा ठोस काम हुने आशा गरेका छन्।
पुराना दलमा हारको कारण खोज्दै समीक्षा
प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित पराजय व्यहोरेका पुराना तीन दलले चुनावी समीक्षाको प्रक्रिया सुरु गरेका छन्। ‘नयाँको लहर’ सामु कमजोर देखिएका नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मतगणना सकिएपछि परिणामको औपचारिक समीक्षा गर्नतर्फ ध्यान केन्द्रित गरेका हुन्।
निर्वाचनको प्रारम्भिक नतिजा आउँदै गर्दा केही नेताहरूले विभिन्न प्रश्न उठाए पनि अन्तिम परिणाम सार्वजनिक भएपछि मात्रै पार्टीभित्र औपचारिक रूपमा चुनावी समीक्षाको विषय प्रवेश पाएको हो। पराजयका कारणबारे नेतृत्वमाथि गम्भीर प्रश्न उठिरहेको अवस्थामा तीनै दलले पार्टी संयन्त्रभित्रै छलफल अघि बढाउने तयारी गरेका छन्।
कांग्रेस र एमालेभित्र भने नैतिक जिम्मेवारी लिएर नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगन थापाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज पार्टीभित्रै उठेको बताइन्छ। तर, नेकपाभित्र भने त्यस्तो आवाज खासै बलियो रूपमा सुनिएको छैन।
नेकपाले भने मतदाताको मन परिवर्तन भएका कारण सोचेअनुसार परिणाम आउन नसकेको निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले मतदाताको धारणा बदलिँदा चुनावी परिणाम अपेक्षाभन्दा फरक आएको प्रारम्भिक निष्कर्ष निकालेको हो। पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावी अवस्थाबारे ‘ब्रिफिङ’ गरेका थिए ।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि निर्वाचन परिणाम आफू र आफ्नो पार्टीको अपेक्षाअनुसार नआएको स्वीकार गर्नुभएको छ। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने भएकाले त्यसलाई शिरोधार्य गर्नु आफ्नो र आफ्नो पार्टीको कर्तव्य भएको उनले बताए । यसैबीच एमालेले आज सचिवालय बैठक डाकेकाे छ । बैठक ओली निवास गुण्डुमा बैठक बस्ने बताइएको छ। बैठकमा समसामयिक राजनीतिक विषय, हालै सम्पन्न निर्वाचनपछिको परिस्थितिलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
उता, कांग्रेसले पनि निर्वाचन परिणामका विषयमा पार्टीभित्र गम्भीर छलफल गर्ने तयारी गरेको छ। जनताले दिएको मतलाई पार्टीले स्वीकार गरे पनि निर्वाचनबारे गम्भीर समीक्षा गरिने कांग्रेस नेतृ डिला संग्रौला ले बताएकी छन्। उनका अनुसार निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी सभापति गगन थापा को नेतृत्वमा रहेको केन्द्रीय समितिले लिनेछ। तर, सभापतिको राजीनामा अहिलेको विकल्प नभएको पनि उनले स्पष्ट पारिन् ।