बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मध्यपूर्व द्वन्द्वको प्रभावः अफगानिस्तानमा फिर्तीको लहर, २ लाख ७० हजार नागरिक फर्किए

बुधबार, फाल्गुन २७ २०८२

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा जारी युद्धको प्रभावका कारण अफगानिस्तानमा छिमेकी देशबाट स्वदेश फर्किने नागरिकको सङ्ख्या बढ्दै गएको छ।

संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका अनुसार हालसम्म करिब दुई लाख ७० हजार अफगान नागरिक पाकिस्तान र इरानबाट आफ्नो देश फर्किएका छन्। तीमध्ये एक लाख १० हजार इरानबाट र एक लाख ६० हजार पाकिस्तानबाट फर्किएका हुन्। मध्यपूर्वमा जारी द्वन्द्वका कारण यो सङ्ख्या अझ बढ्न सक्ने जोखिम रहेको एजेन्सीले चेतावनी दिएको छ।

एजेन्सीका प्रतिनिधिहरूले फिर्ती प्रक्रिया व्यवस्थित भए पनि अवस्था तनावपूर्ण र चिन्ताजनक रहेको बताएका छन्। फेब्रुअरी २८ देखि संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि तेहरानले ड्रोन र मिसाइलमार्फत प्रतिक्रिया दिएको थियो। त्यसपछि दैनिक करिब एक हजार ७०० अफगान नागरिक इरानबाट फर्किरहेको जनाइएको छ।

प्रतिनिधिहरूले अफगानिस्तानले इरानसँग सम्बन्धित घटनाक्रमको असर भोगिरहेको र पाकिस्तानसँगको सीमामा पनि तनाव देखिएको बताएका छन्। सीमा नाका खुल्ने बित्तिकै स्वदेश फर्किनेहरूको सङ्ख्या अझ तीव्र रूपमा बढ्न सक्ने चेतावनी उनीहरूको छ।

संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी र युनिसेफले सीमा क्षेत्रमा तथा देशभित्र व्यवस्थापन क्षमता बलियो बनाउन प्रयास गरिरहेको जनाएको छ। तर ठूलो सङ्ख्यामा नागरिक फर्किने सम्भावनालाई ध्यानमा राख्दा थप अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताइएको छ।

पछिल्ला दुई वर्षमा मात्र पाँच लाखभन्दा बढी अफगान नागरिक छिमेकी देशबाट स्वदेश फर्किसकेका छन्। तीमध्ये गत वर्ष मात्रै एक लाख ९० हजार नागरिक इरानबाट फर्किएको तथ्याङ्क छ।

– एजेन्सी