काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ शानदार मत पाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि उल्लेख्य मत प्राप्त गरेको देखिएको छ।
पहिलो पटक चुनावी मैदानमा उत्रिएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई उछिनेको छ।
पछिल्लो मत गणना अनुसार हालसम्म ८१ लाख मत गणना हुँदा श्रम संस्कृति पार्टीले २ लाख ८४ हजार ५३५ मत प्राप्त गरेको छ भने राप्रपाले २ लाख ७१ हजार ८९६ मत पाएको छ।
त्यस्तै रास्वपाले ३९ लाख १४ हजार २६५ मत प्राप्त गरेको छ, जुन गणना भएको मतको ४८.२ प्रतिशत हो। नेपाली कांग्रेसले १३ लाख १९ हजार ६१२ मत (१६.३ प्रतिशत) पाएको छ भने नेकपा (एमाले) ले ११ लाख १९ हजार ४०३ मत (१३.८ प्रतिशत) प्राप्त गरेको छ।
नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ७५ हजार ८३७ मत प्राप्त गरेको छ। यसैगरी उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले १ लाख १३ हजार ६४६ मत पाएको छ।
कुल खसेको मत हाल १ करोड ९ लाख ७७ हजार ७११ रहेको छ।