काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।
हालसम्म कुल ८२ लाख ९३ हजार ६३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ४० लाख ३ हजार ५६१ मतसहित अग्रस्थानमा रहेको छ।
निर्वाचन आयोगका अनुसार देशका अधिकांश निर्वाचन क्षेत्रमा मतगणना सम्पन्न भइसकेको छ भने केही जिल्लामा मात्र गणना सुरु हुन बाँकी छ।
काठमाडौं जिल्लाका १ देखि १० सम्मका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ। त्यस्तै भक्तपुरका १ र २ तथा ललितपुरका १ र ३ नम्बर क्षेत्रको गणना पनि सम्पन्न भएको छ।
यसैगरी धनुषा–३, महोत्तरी–१, सर्लाही–२, बाराका चारवटै क्षेत्र (१, २, ३ र ४), रौतहट–१ तथा पर्सा–१, २ र ४ मा मतगणना सकिएको छ।
पहाडी तथा हिमाली जिल्लाहरू रसुवा, सिन्धुली (१ र २), दोलखा, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, रोल्पा, रुकुम पश्चिम, अर्घाखाँची, पर्वत, तनहुँ, कास्की, लमजुङ, मुस्ताङ, म्याग्दी, मनाङ र बागलुङमा पनि मतगणना सम्पन्न भएको छ।
त्यसैगरी कञ्चनपुर (१, २ र ३), कैलाली–१, झापा–३, मोरङ (२, ३, ४ र ६), सुनसरी–३, उदयपुर–२, गुल्मी–१, बाँके (१, २ र ३), कपिलवस्तु–२, दाङ (२ र ३), नवलपरासी पूर्व (१ र २) तथा स्याङ्जा–१ मा पनि मतगणना सकिएको विवरण प्राप्त भएको छ।
केही जिल्लाका निश्चित क्षेत्रहरूमा भने अझै मतगणना सुरु हुन बाँकी रहेको छ। संखुवासभा, इलाम–१, अछाम–२ र बाजुरामा गणना सुरु हुन सकेको छैन। साथै गोरखा–१ र २ तथा धनुषा–१ र २ मा पनि समानुपातिकतर्फको मतगणना सुरु हुन बाँकी रहेको जनाइएको छ।