बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

श्रम संस्कृति पार्टीबाट संसद छिरेका आरेन राई काे हुन् ?

सोमबार, फाल्गुन २५ २०८२

खोटाङ । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिव आरेन राई निर्वाचित भएका छन्। केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका २९ वर्षीय राईले १६ हजार ६१२ मत प्राप्त गरेर प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्।

पहिचानवादी नेताका रूपमा चिनिने राई सानै उमेरदेखि विभिन्न संघ–संस्थामार्फत सामाजिक गतिविधिमा सक्रिय रहेको बताइन्छ। उनले खुला राजनीतिमा प्रवेश गरेपछि सामाजिक न्याय, समानता र पहिचानका मुद्दा उठाउँदै आएका छन्। प्रतिनिधिसभामा पुगेर भूइँमान्छेको हित हुने नीतिनिर्माणमा योगदान गर्ने र उनीहरूको आवाज बुलन्द गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

राईले विसं २०८० मा मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीको सर्वोच्चसभा सदस्य तथा आर्थिक विभाग प्रमुख पद त्यागेर श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए। त्यसअघि उनी २०७४ सालसम्म राष्ट्रवादी केन्द्र नेपाल अभियानका केन्द्रीय सदस्यका रूपमा सामाजिक अभियानमा संलग्न रहेका थिए। हाल उनी स्नातक तहमा अध्ययनरत विद्यार्थीसमेत रहेको बताइएको छ।

जातीय विभेदविरुद्धको आन्दोलनमा सक्रिय भूमिका खेलेका राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी प्रमिला बिसुका (सार्की)सँग अन्तरजातीय विवाह गरेका छन्।

श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईको गृह जिल्ला खोटाङ भएकाले सोही पार्टीका महासचिव राईको उम्मेदवारीलाई विशेष महत्वका साथ हेरिएको थियो। पार्टी स्थापना भएको तीन महिनामै देशभरका जनताको उत्साह र समर्थनका कारण जिल्लामा विजय हासिल गर्न सफल भएको श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईले बताएका छन्।

खोटाङमा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए। राजनीतिक विश्लेषकहरूले परम्परागत दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान गरे पनि अन्ततः श्रम संस्कृति पार्टीका उम्मेदवार राई विजयी भएका हुन्।

यसैबीच श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा खोटाङका पाँच जना नेताको नाम समावेश गरिएको छ। आदिवासी जनजाति महिला कोटामा उमा चाम्लिङ राई, चन्द्रकला याखा र समला राई, आदिवासी जनजाति पुरुष कोटामा सीताराम राई तथा दलित महिला कोटामा कोपिला घिमिरे रहेका छन्।