बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

देशका विभिन्न स्थानमा बदली, केही ठाउँमा वर्षाको सम्भावना

सोमबार, फाल्गुन २५ २०८२

काठमाडौं । नेपालमा अहिले उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिकको तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशका विभिन्न स्थानमा बादल लाग्ने तथा केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ। अन्य पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको अवस्था छ।

सोमबारका लागि गरिएको पूर्वानुमानअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि साधारणतया बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

मेघगर्जन र चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सर्वसाधारणलाई आग्रह गरेका छन्।