बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

सोमबार, फाल्गुन २५ २०८२

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण आज हुँदैछ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ।

गत माघ ११ गते राष्ट्रियसभामा रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन सम्पन्न भएको थियो। सोही निर्वाचनबाट विजयी भएका सदस्यहरूले आज औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

नेपालको संविधानको धारा ८६ को उपधारा (२) बमोजिम राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ। शपथग्रहण कार्यक्रममा सहभागी हुन सदस्यहरूले आफ्नो पहिचान झल्कने पोशाकमा उपस्थित हुनुपर्नेछ। साथै निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।

सचिवालयका अनुसार नेपाली बाहेक अन्य मातृभाषामा शपथ लिन चाहने सदस्यले कानुनी व्यवस्था अनुसार शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी पूर्वतयारीसहित उपलब्ध गराउनुपर्नेछ।

निर्वाचन आयोगका अनुसार माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनबाट कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित भएका छन्।

मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रञ्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन्। त्यसैगरी बागमती प्रदेशबाट गीता देवकोटा र प्रेमप्रसाद दङ्गाल विजयी भएका छन्।

गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका छन्।

कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही तथा सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका छन्।