काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
होली पर्वको सुखद अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गरेका हुन्।
राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ, “होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति तथा कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न तथा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।”
उनले असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा होली पर्व मनाइने उल्लेख गरे। वैरभाव त्यागी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन तथा साथीसँग अबिर र रङ्ग दलेर सद्भाव प्रकट गर्ने परम्पराले नेपाली समाजमा एकताको भावना सुदृढ बनाएको पनि उनको भनाइ छ।
रङ्गहरूको पर्वका रूपमा प्रत्येक वर्ष वसन्त ऋतुमा मनाइने फागुपूर्णिमा देशभर हर्षोल्लासपूर्वक मनाइन्छ। विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चिर ठड्याएपछि सुरु हुने होली पर्व पूर्णिमाको राति चिर दाह गरेपछि समापन हुने परम्परा रहेको छ।