काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काभ्रे क्षेत्र नम्बर १ मा चार प्रमुख दलबीच कडा प्रतिस्पर्धा देखिएको छ। यस क्षेत्रमा १५ दल र तीन स्वतन्त्रसहित १८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।
मुख्य प्रतिस्पर्धीका रूपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अमित लामा, नेपाली कांग्रेसका गुणराज मोक्तान, नेपाल कम्युनिस्ट पार्टीका दिनानाथ गौतम र राष्ट्रिय स्वतन्त्र पार्टीका मधु चौलागाईंबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
एमालेका उम्मेदवार लामा पार्टीका केन्द्रीय सदस्य हुन् भने कांग्रेसका मोक्तान जिल्ला सचिवका रूपमा सक्रिय छन्। रास्वपाका चौलागाईं कानुन व्यवसायी हुन् भने नेकपाका गौतम चौंरीदेउराली गाउँपालिकाका पूर्व अध्यक्ष हुन्। चारै जना उम्मेदवार पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेकाले चुनावी माहोल थप रोचक बनेको छ।
२०७९ सालको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका सूर्यमान दोङले एमालेका रेशम लामालाई ३ हजार ९ सय ६४ मतले पराजित गर्दै ३४ हजार ४ सय १२ मतसहित विजयी भएका थिए। समानुपातिकतर्फ एमालेले २४ हजार ७९, कांग्रेसले २१ हजार ७ सय ५५, माओवादी केन्द्रले १७ हजार ३ सय ३५, रास्वपाले ९ हजार ७ सय ९४, राप्रपाले २ हजार ४ सय २९ र एकीकृत समाजवादीले १ हजार ९ सय ५५ मत प्राप्त गरेका थिए। यसपटक कुनै दलबीच गठबन्धन नभएकाले प्रत्यक्ष प्रतिस्पर्धा झनै चर्किएको विश्लेषण गरिएको छ।
घरदैलो अभियानका क्रममा उम्मेदवारहरूले स्थानीय समस्या—मोटरबाटो, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत विकासका मुद्दालाई प्राथमिकतामा राखेका छन्। विगतमा अधुरा रहेका विकास आयोजना र जनजीविकाका सवाललाई चुनावी एजेन्डा बनाइएको छ।
गठबन्धनविहीन मैदान, नयाँ अनुहार र विगतको मतपरिणामको समीकरणले काभ्रे–१ यसपटक चासोको केन्द्रमा परेको छ। मतदाताको अन्तिम निर्णयले कसको पक्षमा बाजी पर्नेछ भन्ने प्रतीक्षा अब केही दिनमै टुंगिनेछ।