बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

दुर्गा प्रसाईं पुनः पक्राउ

आइतबार, फाल्गुन १७ २०८२

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पुनः पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहानै भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो। पारिवारिक स्रोतका अनुसार बिहान करिब ६ बजेदेखि प्रहरी टोली निवास वरिपरि तैनाथ रहेको थियो र पौने ८ बजेतिर पक्राउ पुर्जी थमाएर उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले जारी गरेको पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने उल्लेख गरिएको छ। हाल उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमै राखिएको जनाइएको छ।

यसअघि प्रसाईं ४ फागुनमा काठमाडौंमा पक्राउ परेका थिए र १३ फागुनमा रिहा भएका थिए। गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

प्रसाईंको पछिल्लो पक्राउले पुनः राजनीतिक तथा कानुनी वृत्तमा चर्चा चुलिएको छ।