बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

आइतबार, फाल्गुन १७ २०८२

काठमाडौँ । हाल देशको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि बादल लागेको छ। अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका केही स्थानमा तुवाँलो देखिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ। आज दिउँसो तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ भने हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। पहाडी क्षेत्रमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा अन्य प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। ती प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि हल्का वर्षाको अनुमान गरिएको छ। आज राति तराईका केही स्थानमा तुवाँलो कायम रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ।

महाशाखाले हुस्सु, तुवाँलो, वर्षा तथा हिमपातको सम्भावना रहेका क्षेत्रका बासिन्दा र ती क्षेत्रमा यातायात सञ्चालन गर्ने सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।