झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाएका छन्।
शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा बोल्दै उनले मुलुकको सार्वभौम संसदलाई ध्वंसको माध्यमबाट बलजफ्ती विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको बताएका हुन्।
देशमा देखिएको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको उल्लेख गर्दै उनले एमाले चुनावबाट नभाग्ने पार्टी भएकाले देशभर पार्टी चुनावकेन्द्रित भएको बताए।
अध्यक्ष ओलीले आगामी निर्वाचनबाट एमाले पहिलो शक्ति बन्ने दाबी गर्दै देशमा देखिएका समस्याहरूको समाधान निकाल्ने प्रतिबद्धता व्यक्त गरे।
पूर्वप्रधानमन्त्री समेत रहेका उनले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने स्पष्ट पारे। चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको पनि उनको आरोप थियो।
कार्यक्रममा उनले युवाहरूलाई विभिन्न माध्यमबाट फैलाइने भ्रममा नपर्न र त्यस्ता भ्रम चिर्न सक्रिय हुन आग्रह गरे।
सो अवसरमा युवा विद्यार्थीहरूले अध्यक्ष ओलीसमक्ष विभिन्न जिज्ञासा राखेका थिए। उनीहरूको प्रश्नको जवाफ दिँदै उनले कुनै पनि पार्टीको भूमिका, काम र प्रभाव उसको सिद्धान्त, कार्यक्रम र एजेन्डाले निर्धारण गर्ने उल्लेख गरे। साथै एमालेका सिद्धान्त र कार्यक्रम जनतासम्म प्रभावकारी रूपमा पुर्याउन सुझाव दिए।