झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा उत्रिने उद्घोष गरेका छन्।
आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा जारी घरदैलो अभियानका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले एमालेलाई बहुमतसहितको निर्णायक शक्तिका रूपमा स्थापित गर्न आमनागरिकको पूर्ण साथ रहेको दाबी गरे।
झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका ओली यतिबेला क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदातासँग भेटघाटमा व्यस्त छन्।
अध्यक्ष ओलीले आज बिहान ११ बजे दमकस्थित होटल कोरोनेशनमा विभिन्न कलेज तथा विद्यालयका करिब ३ सय बढी विद्यार्थीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ।
एमाले निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार कार्यक्रममा विद्यार्थीका समस्या, जिज्ञासा र सुझाव सुन्ने तथा त्यसमा अन्तरक्रिया गर्ने कार्यसूची रहेको छ।