काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार आवश्यक रहेको र त्यसको ग्यारेन्टीसहित आफूहरू अगाडि बढेको बताएका छन् ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले आगामी पाँच वर्ष कुनै हालतमा खेर जान नदिने संकल्पसहित कांग्रेस अघि बढेको उल्लेख गरे। “नेपाललाई अहिले सुधार चाहिएको हो। सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँ। संकल्प र योजनासहित आएको छौँ,” उनले भने ।
पछिल्ला १०–१२ वर्षमा अपेक्षित रूपमा विकास हुन नसकेको स्वीकार गर्दै उनले त्यसमा आफ्नो पार्टीको पनि हिस्सेदारी रहेको माने। तर अबको पाँच वर्ष परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै देश सञ्चालनमा जिम्मेवार र सम्हालिएर अघि बढ्नुपर्ने धारणा राखे।
सभापति थापाले युवा पुस्तामा बढ्दो असन्तोषलाई जायज ठहर गर्दै वर्तमान राजनीतिक शैलीप्रति युवाहरूको गुनासो सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त हुँदैन।
“देश उत्तेजनाले मात्रै बदलिँदैन, रिसले बदलिँदैन। हामीबीच राजनीतिक मतभेद छन्, प्रतिस्पर्धा छ, तर देश बनाउन सबै दल आवश्यक छन्,” उनले भने।
उनले देश निर्माणका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीलगायत सबै राजनीतिक शक्तिहरूको सहकार्य आवश्यक रहेको बताए । सबैलाई समेटेर अघि बढ्ने भूमिका नेपाली कांग्रेसले निर्वाह गर्ने दाबीसमेत उनले भने ।