काठमाडौं । शिवरात्रीको ड्युटीका क्रममा पशुपतिनाथ मन्दिर क्षेत्रमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानगरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले श्रेष्ठलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो।
प्रहरीका अनुसार शिवरात्रीका अवसरमा पशुपतिमा खटिएका एक प्रहरीलाई श्रेष्ठले लात्तीले छातीमा प्रहार गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो तर आक्रमणकारीको पहिचान हुन सकेको थिएन।
मंगलबार प्रहरीले सूचना जारी गर्दै आक्रमणमा संलग्न व्यक्तिको पहिचानका लागि नागरिकसँग सहयोग मागेको थियो। त्यसपछि संकलित सूचनाका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।