काठमाडौं । रामचन्द्र पौडेल ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्न सबैलाई आह्वान गरेका छन् ।
मंगलबार शेर्पा संघ ले आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औँ ‘मे फो त ल्हो’ (नयाँ वर्ष) को शुभकामना कार्यक्रममा सम्बोधन गर्दै उनले निर्वाचन लोकतन्त्रको मूल आधार भएको बताए ।
राष्ट्रपति पौडेलले सुशासनमार्फत समृद्धि हासिल हुने र समृद्धिबाट देशमा शान्ति, स्थायित्व तथा राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गरे । उनले लोकतन्त्रमा जनताको अभिमत लिने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन नै भएको जिकिर गरे।
उनले भने, “सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुन्छ। त्यसैका लागि लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकाले फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल पार्न म सबैमा आह्वान गर्दछु।”
फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै पक्ष एकताबद्ध भएर लाग्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ।