बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीमा ५०% सेवा शुल्क छुट योजना सार्वजनिक

मंगलबार, फाल्गुन ५ २०८२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनका अनलाइन भुक्तानीमा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट दिने विशेष योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार अध्ययन शुल्क, भिसा शुल्क, अनलाइन परीक्षा शुल्क लगायतका अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा आधा छुट प्रदान गरिनेछ। यो सुविधा विशेष गरी विदेश अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीलाई लक्षित गरिएको हो।

कुन–कुन भुक्तानीमा छुट?

यस योजनाअन्तर्गत आईईएलटीएस (IELTS), टोफल (TOEFL), स्याट (SAT), जीम्याट (GMAT), पीटीई (PTE), एसीटी (ACT), एसीसीए (ACCA), युएसएमएलई (USMLE), कलेज फि, भिसा शुल्क, बीमा शुल्क लगायत विभिन्न शैक्षिक सेवाका भुक्तानीमा ५० प्रतिशत सेवा शुल्क छुट उपलब्ध हुनेछ।

यो योजना जुलाई ३१, २०२६ सम्म लागू रहने बैंकले जनाएको छ। सेवा देशभर रहेका ११७ शाखामार्फत उपलब्ध गराइएको छ। योजनासम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमा हेर्न सकिनेछ।

अन्तर्राष्ट्रिय सम्मानित बैंक

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मानित भएको बैंक हो।

मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा बैंकले ३५२ शाखा, ३८५ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको जनाएको छ।