शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अध्यक्ष ओली आज झापा जाँदै, मतदाता भेटघाट तीव्र

आइतबार, फाल्गुन ३ २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज पुनः आफ्नो निर्वाचन क्षेत्र झापा जाँदैछन्। उनी बिहान १० बजेर २० मिनेटमा काठमाडौँबाट उडान भरी भद्रपुर विमानस्थल अवतरण गर्ने तालिका छ।

यसअघि माघ २३ गते झापा पुगेका ओलीले सात दिनमा करिब ८० वटा गाउँको भ्रमण गरी काठमाडौँ फर्किएका थिए।

आजको कार्यतालिकाअनुसार ओली शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायसँगको अन्तरक्रियामा सहभागी हुनेछन्। त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिएका छन्।

एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै बस्नेछन्। यस अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ। दैनिक कम्तीमा ६ देखि ७ स्थानमा पुग्ने गरी रुट मिलाइएको जनाइएको छ।

एमाले दमकका अध्यक्ष राम पौडेलका अनुसार सोमबार बिहान ११ बजे दमक–५ को यलम्बर चोक, ११ः५० बजे दमक–६ को शंखधर चोक, दिउँसो १ बजे दमक–७ को तबिन चोक, २ बजे दमक–१ को हल्दार चोक, ३ बजे दमक–३ को गजकाली मन्दिर र अपराह्न ४ बजे दमक–३ कै आमचोकमा कार्यक्रम राखिएको छ। ती स्थानमा ओलीले स्थानीयसँग प्रत्यक्ष संवाद गर्नेछन्।