काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ। मङ्गलबारको तुलनामा दुवै बहुमूल्य धातुको भाउमा वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० कायम भएको छ भने चाँदी प्रतितोला रु पाँच हजार २९० मा कारोबार भइरहेको छ।
मङ्गलबार सुन प्रतितोला रु तीन लाख पाँच हजार ५०० र चाँदी रु पाँच हजार २४० मा कारोबार भएको थियो। त्यसअघि सोमबार सुन प्रतितोला रु तीन लाख चार हजार ६०० र चाँदी रु पाँच हजार २५० मा खरिदबिक्री भएको थियो। यसरी तीन दिनयता सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको देखिन्छ।
अन्तरराष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च विन्दुमा रहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आज एक औँस सुन पाँच हजार ६० अमेरिकी डलर र चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको बताइएको छ।