काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् ।
सहिद दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन् ।
सन्देशमा भनिएको छ, “उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ । अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् । न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेन–जी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि नमन गर्दछु ।”
प्रधानमन्त्री कार्कीले शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माण गर्नु प्रत्येक शासकको दायित्व भएको उल्लेख गर्दै, ती मूल्यहरू सधैँ स्मरणमा राखी अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।