काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले आगामी प्रतिनिधिसभा निर्वाचनबाट पनि बहुमतको सरकार नबने मुलुक फेरि राजनीतिक अस्थिरताको दुश्चक्रमा फसिरहने चेतावनी दिएकाा छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता रिजालले बहुमतको सरकार नबन्दा सरकार गठन र जोगाउनेमै समय खर्चिनु पर्ने अवस्था दोहोरिने र त्यसले मुलुकको ध्यान आर्थिक विकासमा केन्द्रित हुन नपाउने बताए ।
उनले २०८२ भदौ २३–२४ मा भएको घटनाबाट निजी सम्पत्तिबाहेक करिब ८२ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारी अध्ययन समितिको निष्कर्ष रहेको उल्लेख गरे । साथै, आगामी निर्वाचनका लागि थप करिब ३० अर्ब रुपैयाँ खर्च हुने बताउँदै विदेशीसँग ऋण मागेर बजेट बनाउनु पर्ने देशका लागि यस्तो क्षति अपुरणीय भएको उनको भनाइ छ ।
नेता रिजालका अनुसार यस्ता घटनाले मुलुकको विकास प्रक्रिया धेरै वर्ष पछाडि धकेलेको छ ।
उनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा बहुमतको सरकार गठनका लागि नेकपा एमालेलाई विजयी गराउन सबैलाई आग्रह समेत गरेका छन् ।