पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो छ महिनामा पेट्रोलियम पदार्थको आयात निरन्तर वृद्धि भएको छ। सो अवधिमा करिब रु ९० अर्ब छ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
भन्सारका अनुसार चालु आवको छ महिनामा गत आवको सोही अवधिको तुलनामा रु दुई अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो। यस अवधिमा पेट्रोलियम पदार्थ आयातबाट रु ३७ अर्ब ८५ करोड राजस्व सङ्कलन गरिएको छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थको आयातसँगै राजस्व सङ्कलनमा समेत उल्लेखनीय वृद्धि भएको जानकारी दिनुभयो। गत आवको पहिलो छ महिनामा रु ८७ अर्ब ३१ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा रु ३६ अर्ब १४ करोड राजस्व सङ्कलन भएको थियो।
भन्सार कार्यालयका तथ्याङ्कअनुसार चालु आवको छ महिनामा रु ४५ अर्ब ३८ करोड मूल्यको डिजेल आयात भई त्यसबाट रु १९ अर्ब ८५ करोड राजस्व उठेको छ। यस्तै, रु २० अर्ब ९८ करोड मूल्यको पेट्रोल आयातबाट रु १३ अर्ब ८२ करोड र रु १४ अर्ब ७९ करोड मूल्यको एलपीजी ग्यास आयातबाट रु दुई अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ।