काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि बैङ्किङ खाता सञ्चालनको व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैङ्कलाई पत्राचार गरेको छ।
आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च बैङ्क खातामार्फत गर्नुपर्ने र खर्च व्यवस्थापनका लागि जिम्मेवार पदाधिकारी तोक्नुपर्ने कानुनी व्यवस्था रहेकाले त्यसको कार्यान्वयन सहज बनाइदिन केन्द्रीय बैङ्कलाई आग्रह गरेको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट मात्र खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्चका लागि बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीमार्फत सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था छ। साथै, रु २५ हजारभन्दा बढीको आर्थिक सहयोग बैङ्क वा वित्तीय संस्थामार्फत मात्र लिनुपर्ने प्रावधान रहेको आयोगले जनाएको छ।
कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगस्वरूप नगद रकम प्राप्त भएमा सोको रसिद वा भरपाई दिनुपर्ने र राजनीतिक दलका नाममा प्राप्त सहयोग दलको तथा उम्मेदवारका नाममा प्राप्त सहयोग उम्मेदवारको बैङ्क खातामा जम्मा गर्नुपर्ने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ।
यी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनमार्फत आमनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी बनाउन राजनीतिक दल र उम्मेदवारलाई बैङ्क खाता खोल्न सहजीकरण गरिदिन आयोगले नेपाल राष्ट्र बैङ्कसँग आग्रह गरेको हो।
यो व्यवस्था समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूमा समेत लागू हुनेछ। दुवै निर्वाचन प्रणालीतर्फका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका नाममा खोलिने बैङ्क खाता आमनिर्वाचन सम्पन्न भई आयोगले निर्णय गरेर बन्द गर्न नलगाउँदासम्म सञ्चालनमा रहने व्यवस्था गरिने आयोगले जनाएको छ।
निर्वाचनसँग सम्बन्धित आम्दानी तथा खर्चका लागि प्रत्येक राजनीतिक दलका लागि अलग्गै एउटा र प्रत्येक उम्मेदवारका लागि एक–एक वटा बैङ्क खाता खोल्ने व्यवस्था मिलाइदिन आयोगले केन्द्रीय बैङ्कलाई औपचारिक रूपमा पत्राचार गरेको हो।