काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनका लागि आजै उम्मेदवार टुंगो लगाइने बताएका छन् ।
आज बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सभापति थापाले उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै आज दिनभरिमा सबै निर्णय गरिने स्पष्ट पारेका छन् ।
उनले भने, “आज दिनभरिमा सबै कुरा टुंग्याउँछौं। सकेसम्म यसलाई राम्रो बनाउन ‘बेस्ट’ कोसिस गर्छौं।”
सभापति थापाले पार्टीको आधिकारिक टिकट पाउने उम्मेदवारको पक्षमा सबै नेता–कार्यकर्ताले कुनै पनि गुनासो नराखी एकढिक्का भएर सहयोग गर्न आग्रह गरे। उनले यसलाई साझा अभियानको रूपमा लिएर पार्टीका सबै सदस्यहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
“यो एउटा अभियान हो। यो अभियानमा हामी सबै जुट्नुपर्छ भन्ने विश्वासका साथ सबैलाई अनुरोध र अपिल गर्न चाहन्छु,” उनले सन्देशमा उल्लेख गरेका छन् ।