काठमाडौँ। आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनायो।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रनको योगदान दिइन्। उनले ५६ बल खेल्दै ६ चौकासहित ४४ रन बनाइन्। सम्झना खड्काले ११ बलमा २६ रन जोडिन् भने रुविना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन्। पूजा महतोले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
थाइल्याण्डका बलरमध्ये थिपात्चा पुथावङले सर्वाधिक तीन विकेट लिइन्। ओन्निता कामचोम्पुले दुई विकेट लिँदा चनिदा सुथ्थरुवाङ, सुलीपोर्न लाओमी र सुनिदा चातुरोङ्ग्रातानाले समान एक–एक विकेट लिए।