इतिहास केवल बितेका घटनाहरूको संग्रह होइन, त्यो वर्तमानको ऐना र भविष्यको दिशानिर्देशक पनि हो। कुनै पनि राष्ट्रको चेतना इतिहासबाटै निर्माण हुन्छ — कसरी जन्मियो, कसरी लड्यो, कसरी टिक्यो र कसरी परिवर्तन भयो। विश्व इतिहासमा रोमुलस र रेमस को कथा त्यही चेतनाको एउटा प्रतीक हो। यो कथा केवल एउटा सहर स्थापना गर्ने दुई दाजुभाइको कथा होइन; यो शक्ति, महत्वाकांक्षा, द्वन्द्व, त्याग र सभ्यता निर्माणको कठोर मूल्यको कथा हो।
रोम नामक महान् सभ्यताको जग बसाल्ने क्रममा रोमुलस ले आफ्नै भाइ रेमस को हत्या गर्नु परेको कथा आज पनि मानव सभ्यताका लागि गहिरो प्रश्न बनेर उभिएको छ — के सभ्यता सधैँ रगतकै मूल्यमा बन्नुपर्छ? के नयाँ संरचना बनाउन पुरानो सम्बन्ध तोड्नै पर्छ? जब हामी यही प्रश्न नेपालतर्फ फर्काएर हेर्छौँ, अर्को प्रश्न अझ गहिरो भएर उठ्छ — के हामीले हाम्रो इतिहास बुझ्न सधैँ अरूको कथा खोज्नैपर्छ? कि हाम्रो आफ्नै माटो, आफ्नै संघर्ष, आफ्नै नायक र आफ्नै चेतनाबाट भविष्य निर्माण गर्न सक्छौँ? रोमको कथा र पढाइको दास मानसिकता
हामीले हरेक आन्दोलन, हरेक परिवर्तनका बेला रोम जलिरहेको कथा सुन्दै आयौँ — राजा बाँसुरी बजाउँदै गरेको, साम्राज्य पतन हुँदै गरेको, शक्ति भ्रष्ट बन्दै गएको। तर त्यही रोम दुई जना दाजुभाइको द्वन्द्वबाट सुरु भएर, राजसंस्था, गणतन्त्र हुँदै आज विश्व सभ्यताको प्रतीक बनेको तथ्य हामी कमै स्मरण गर्छौँ।
यसले एउटा गम्भीर प्रश्न जन्माउँछ — के हामी अझै पनि अरूले बनाइदिएको पाठ्यक्रम, अरूले व्याख्या गरिदिएको इतिहास र अरूले थमाइदिएको दृष्टिकोणको दास बनेर सोचिरहेका छौँ?
के हामी विसेनगर्ची जस्ता स्वदेशी चश्माबाट पृथ्वीनारायण शाहको मूल्यांकन गर्दैजानुको साटो आफ्नै राष्ट्रनिर्माणको सूत्रलाई कमजोर बनाइरहेका त छैनौँ?
यदि इतिहास केवल आयातित सिद्धान्तबाट बुझिन्छ भने, त्यो इतिहास चेतना होइन, उपनिवेशित सोच बन्छ। पृथ्वीनारायण शाह: मिथक होइन, चेतना हुन नेपालको सन्दर्भमा पृथ्वीनारायण शाह कुनै काल्पनिक पात्र होइनन्। उनी कुनै एक वंशको राजा मात्र पनि होइनन्। उनी आधुनिक नेपालको निर्माता हुन् — एकीकरणको प्रतीक हुन राष्ट्रिय स्वाभिमानको आधार हुन् ।
रोमुलस ले रोम बसाल्न खोजेझैँ, पृथ्वीनारायण शाहले पनि बिखण्डित भूभागलाई एउटै राष्ट्रमा गास्ने सपना देखे। तर यहाँ एउटा मौलिक भिन्नता छ। रोमुलस को कथा भाइहत्या र रगतसँग गाँसिएको छ, जबकि पृथ्वीनारायण शाहको यात्रा रणनीति, कूटनीति, धैर्य र दीर्घकालीन दृष्टिसँग जोडिएको छ।
“नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो” भन्ने विचार केवल राजकीय घोषणा होइन — यो समावेशी राष्ट्रको प्रारम्भिक दर्शन हो। यो त्यतिबेलाको विश्व राजनीतिमा निकै अगाडि देखिएको सोच थियो।इतिहासमाथिको योजनाबद्ध प्रहार विडम्बना के छ भने आजको नेपालमा हामी आफ्नै इतिहासमाथि प्रश्न मात्र उठाउँदैनौँ, कहिलेकाहीँ योजनाबद्ध रूपमा त्यसलाई कमजोर बनाउने प्रयास पनि गर्छौँ।
जसरी प्राचीन रोममा रेमस लाई ‘अयोग्य’ ठहर गर्दै मारियो, आजको नेपालमा पनि नयाँ नेतृत्व, नयाँ सोच वा नयाँ पात्र देखापर्दा उसलाई ‘गलत’, ‘अयोग्य’ वा ‘खतरनाक’ भनेर बदनाम गरिन्छ। यो प्रवृत्ति केवल राजनीति होइन, यो ऐतिहासिक रोग हो — नयाँसँग डराउने रोग।नयाँ नेतृत्वप्रतिको डर: इतिहासको पुरानो रोग । रोमको इतिहासले देखाउँछ — नयाँ सहर बनाउने प्रयास सधैँ विवादले घेरिएको हुन्छ। रेमस ले रोमुलस को पर्खाल नाघ्दा त्यो केवल भौतिक सीमाको उल्लंघन थिएन, त्यो दृष्टि र नेतृत्वको टकराव थियो।
आजको नेपालमा पनि त्यही दृश्य दोहोरिएको छ। नयाँ पुस्ता राजनीतिमा आउन खोज्दा पुराना संरचनाहरू असहज हुन्छन्। विचारमाथि बहस हुनुपर्ने ठाउँमा व्यक्ति माथि प्रहार हुन्छ। आलोचना स्वस्थ हुनुपर्ने हो, तर यहाँ चरित्र हत्या को आधार बनाईयको छ। इतिहासले प्रमाणित गरेको छ — नयाँ नेतृत्वलाई अस्वीकार गरेर कुनै पनि सभ्यता दीर्घकालसम्म टिक्न सकेको छैन। रोम आफैँ पनि धेरै चरणको नेतृत्व परिवर्तनपछि मात्र साम्राज्य बन्न सफल भयो। नेपाल पनि आज त्यही संक्रमणकालमा उभिएको छ।इतिहास बनाउने र जोगाउने त्रिवेणी ।
आजको नेपालको राजनीतिक संकट र ऐतिहासिक बहसलाई हेर्दा, हामी स्पष्ट रूपमा एउटा त्रिवेणी देख्छौँ ।
रोमको कथा — सभ्यता निर्माणको चेतावनी नेपालको एकीकरण — राष्ट्रनिर्माणको सम्भावना आजको राजनीतिक संकट — इतिहास जोगाउने वा बिगार्ने परीक्षा यी तीनै धार एकै ठाउँमा भेटिएका छन्। यही त्रिवेणीमा उभिएर हामीले निर्णय गर्नुपर्ने समय आएको छ — हामी इतिहास दोहोर्याउने कि इतिहास सुधार्ने? के नेपाल सुन्दर इतिहास बनाउन सक्दैन? यो प्रश्न भावनात्मक मात्र होइन, सामूहिक जिम्मेवारीसँग जोडिएको प्रश्न हो। नेपालले सुन्दर इतिहास बनाउन सक्छ — तर सर्तसहित। पहिलो, इतिहाससँग इमानदार संवाद — न अन्धभक्ति, न अन्धविरोध। दोस्रो, नयाँ सोचलाई स्थान दिने साहस — नयाँ सधैँ गलत हुँदैन।
तेस्रो, आलोचना संस्कृतिको परिष्कार — आलोचना विचारको होस्, चरित्रको होइन। यदि रोमले भाइहत्या पछि पनि सभ्यता निर्माण गर्न सकेको हो भने, नेपालले संवाद, सहमति र चेतनाबाट अझ सुन्दर इतिहास किन बनाउन नसक्ने? हामी कुन इतिहास रोज्दैछौँ? रोमको इतिहासले हामीलाई चेतावनी दिन्छ भाइभाइको युद्धले सभ्यता त बन्छ, तर घाउ गहिरो हुन्छ।
नेपालको इतिहासले हामीलाई सम्भावना देखायको छ । एकीकरण, समावेशिता र साझा भविष्यको।अब प्रश्न यो होइन कि नेपाल रोमको इतिहास दोहोर्याउँदैछ कि छैन।
प्रश्न यो हो — हामी कुन इतिहास रोज्दैछौँ? यदि हामीले सकारात्मक सोच, सहिष्णुता र ऐतिहासिक चेतनालाई रोज्यौँ भने, नेपाल नेपालीको इतिहासमा केवल सुन्दर मात्र होइन — प्रेरणादायी पनि बन्न सक्छ। इतिहास खेल होइन, जिम्मेवारी हो। र आज त्यो जिम्मेवारी हाम्रो पुस्ताको काँधमा छ।
-अरुण राज सुमार्गी
(सामाजिक विश्लेषक तथा समावेशी विकास अभियन्ता)