काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।
विशेष महाधिवेशन आह्वानपछि पार्टी विभाजनको डिलमा पुगेको अवस्थामा राष्ट्रपतिसँग देउवाको भेटलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेट पार्टीको आन्तरिक विषयमा केन्द्रित हो वा समसामयिक राजनीतिक विषयमा भन्नेबारे स्पष्ट खुलाइएको छैन।
यसअघि आज बिहान देउवा र नेता शेखर कोइरालाबीच पनि भेटवार्ता भएको थियो। देउवा शीतल निवास जानुपर्ने बताउँदै पछि थप छलफल गर्ने भन्दै त्यहाँबाट निस्किएका थिए।
पार्टीका विभिन्न पक्षबीच सघन संवाद जारी रहे पनि हालसम्म ठोस निचोड निस्किएको छैन। संस्थापन पक्षले विशेष महाधिवेशन स्थगित गरेपछि मात्र थप छलफल गर्न सकिने अडान लिएको छ।
संस्थापन पक्षले प्रतिनिधिसभा उम्मेदवारी दर्ता र राष्ट्रियसभा निर्वाचनपछि महाधिवेशनको नयाँ तालिका ल्याउने प्रस्ताव राखेको छ। तर महामन्त्रीद्वयले २७ र २८ गते नै विशेष महाधिवेशन गर्ने बटमलाइनबाट पछि नहटेपछि सहमति जुट्न सकेको छैन।