काठमाडाैं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा सुरु भएको हो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू तथा सातवटै प्रदेशका सभापतिहरूको उपस्थिति रहेको छ।
तर बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छैनन्। आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा दुवै महामन्त्री सहभागी नभएको नेताहरूले बताएका छन्। उनीहरूले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बहिस्कार गरेको जनाइएको छ।
केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरू तथा प्रदेश सभापतिहरूलाई बैठकमा बोलाइए पनि थापा र शर्मा उपस्थित नभएका हुन्। महामन्त्रीद्वयले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउँदै आगामी २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरिसकेका छन्।