बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ

शुक्रबार, पुष २५ २०८२

काठमाडौं । बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–१० बस्ने २१ वर्षीय सुनिल घर्तिमगर, २० वर्षीय प्रकाश लोहार र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–४ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–८ पिपिरी बस्ने २७ वर्षीय राजु चौधरीले र ३१ वर्षीय रामसागर थारू रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले रा.८ प २६९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँकेको कोहलपुर नगरपालिका–११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका–६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका–८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका–२ बस्ने कैलाली जानकी गाउँपालिका–२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ सुपादेउरालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही नगरपालिका–९ बस्ने ३४ वर्षीय पदम रायमाझीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले ठाडाबाट सन्धिखर्कतर्फ आउँदै गरेको लु.१३ प ५६३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपलिका–१० नारायणपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने २५ वर्षीय अरमान मन्सुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–९ नयाँबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम सहित कपिलवस्तु मायादेवी गाउँपालिका–३ बस्ने २७ वर्षीय संजय यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय २० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय लक्ष्मण आचार्य, सोही नगरपालिका–११ बस्ने २४ को रोशन सुनार र सोही नगरपालिका–९ बस्ने दैलेख घर भएका ३० वर्षीय रबिन्द्र राज शर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले लक्ष्मणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० कृष्णनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम र नगद ९ हजार ५ सय ५० रूपैयाँ सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१० मिलडाँडा बस्ने २७ वर्षीय जगत मल्ल, ३२ वर्षीय दिपक मल्ल र बाँके कोहलपुर नगरपालिका–९ तिलकपुर बस्ने २० वर्षीय गणेश बिसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले क.प्र.०२–००२ प ४०९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाराको प्रसौनी गाउँपालिका–१ नकटुवाबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो २४ ग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका–७ बस्ने ३८ वर्षीय निलेश पटेल कुर्मी, वीरगंज महानगरपालिका–११ श्रीपुर बस्ने ३२ वर्षीय जौवाद अमहद र बिन्दाबासिनि गाउँपालिका–२ बस्ने ४८ वर्षीय शेषनाथ चौरसिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा समेतबाट खटिएको प्रहरीले बिआर ०१ सिएल ६०७९ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका–१० बसपार्क चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९ ट्याब्लेट र भोमिन १० ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका–९ बस्ने गोरखा भिमसेन गाउँपालिका–१० घर भएकी २३ वर्षीया श्रीया मगर र ३२ वर्षीय बिनय महतो रहेका छन् । प्रहरी चौकी नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१५ स्थित चिया नास्ता पसलबाट अवैध लागूऔषध गाँजा ७ किलो १ सय ८० ग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार पिपरा पञ्चाय–७ घर भएका ४५ वर्षीया कबिता यादवले, उनकै छोरा २८ वर्षीय मुन्ना कुमार यादव र जहदा गाउँपालिका–१ बस्ने १९ वर्षीय मंजित कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले कबिताले संचालन गरेको पसल तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।