काठमाडौं । नेपाली काँग्रेसका नेता किशोर सिंह राठौरले नयाँ राजनीतिक दलहरुलाई कम्तीमा १० वर्ष पार्टी चलाएर देखाउन चुनौती दएिका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
राठौरले केही वर्षअघि मात्रै खुलेका जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको उदाहरण दिँदै ती दलहरुले ठूला र चर्का कुरा मात्रै गरिरहेको टिप्पणी गरे। “यी नयाँ पार्टीहरु कुरा ठूला गर्छन्। १० वर्ष राम्रोसँग पार्टी चलाएर देखाऊन्, त्यसपछि कुरा गरौँला। पाँच वर्षसमेत चलाउन सकेका छैनन्,” उनले भने ।
उनले नेपाली काँग्रेस, नेकपा एमाले लगायतका पुराना राजनीतिक दलहरुले लामो संघर्षमार्फत जनतालाई अधिकार र विकास दिएको दाबी गर्नुभयो। साथै, सहकारी ठग, दलाल र गँजेडीहरुले देश चलाउन नसक्ने कठोर टिप्पणीसमेत गरे ।
राठौरले भ्रष्टाचार नियन्त्रण पुराना दलले पनि पूर्ण रूपमा गर्न नसकेको स्वीकार गर्दै अहिले वा भोलि आउने सरकारले पनि सजिलै नियन्त्रण गर्न नसक्ने धारणा राखे। साथै, पार्टीको १४औँ महाधिवेशनमा पराजय व्यहोरेकाहरुले चिच्याएर बोल्न आवश्यक नरहेको बताए ।