ललितपुर । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्ला तीन महिनामा मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको बताएका छन् ।
गोरखापत्र संस्थानको आयोजनामा र गोरखापत्र एकेडेमीको संयोजनमा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा मन्त्री खनालले जेनजीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुनरुत्थान हुँदै गएको भन्दै करिब १० प्रतिशतले राजस्व वृद्धि भएको जानकारी दिए ।
अर्थमन्त्री खनालले भने, “गएको तीन महिनामा १० प्रतिशत हाराहारीमा राजस्व वृद्धि भएको छ। उत्पादकत्व र उत्पादन वृद्धि भइरहेको छ, र अन्तरिम सरकारले छोटो अवधिमा लगानी वातावरण सुधार गर्दै लगानीकर्ताको विश्वास बढाएको छ।”
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले पनि गोरखापत्रले आयोजना गरेको बहसमार्फत अर्थतन्त्र सम्बन्धी ज्ञान बढाउने महत्व रहेको बताउँदै दीर्घकालीन पूर्वाधार विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। उनले निजी व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न प्रोत्साहित गर्दै, आगामी निष्पक्ष निर्वाचनले स्थायित्व कायम गर्ने विश्वास व्यक्त गरे ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीका अनुसार कार्यक्रमको उद्देश्य निजी क्षेत्र, विज्ञ, नीतिनिर्माता र सरोकारवालाबीच साझा मञ्च सिर्जना गरी अर्थतन्त्रमा देखिएका चुनौती र अवसरको पहिचान गर्नु हो। कार्यक्रममा ‘स्मार्ट पूर्वाधारः विकास र व्यवस्थापन’, ‘कस्तो मनोबल?’ र ‘पुँजी परिचालन र नीतिगत सहजीकरण’ शीर्षकमा तीन वटा छलफल सत्र पनि सञ्चालन हुँदैछन्।