काठमाडौँ । नेपालमा कोरियाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेंसिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपालका लागि कोरियाली राजदूत पार्क ते–यङको उपस्थितिमा टानका अध्यक्ष सागर पाण्डे र महासचिव सोनाम ग्याल्जेन शेर्पा तथा काटाका उपाध्यक्ष किम वियोम्जे र महासचिव वे योङ याङले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीपत्रमा टानसँगको सहकार्यमा काटाले नेपालमा धेरै कोरियाली पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम, अभियान र प्रचारात्मक गतिविधि आयोजना गर्ने, नेपालमा कोरियाली पदयात्री र अन्य पर्यटकहरूको सुरक्षा बढाउन टानलाई सूचना तथा प्रविधि सहयोग गर्ने, र नेपाली पर्यटकलाई कोरिया भ्रमण गर्न प्रोत्साहित गर्ने पहलहरू गर्ने विषयहरू समावेश छन् ।
कोरियाली राजदूत यङले दुई संस्थाबीचको समझदारीले पर्यटन प्रवद्र्धनसँगै दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सहयोग पुगेको बताए। उनले इपिएस प्रणाली र पर्यटनमार्फत आगामी दिनमा सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
काटाका उपाध्यक्ष वियोम्जेले टानसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै, आगामी दिनमा दुई देशबीच पर्यटक आवागमनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।
टानका अध्यक्ष पाण्डेले नेपाल–कोरियाबीच सिधा हवाई उडानको संख्या बढाउनुपर्ने आवश्यकता औँल्याउँदै, समझदारीपछि दुई देशमा भ्रमण गर्ने पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे । टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाइँले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)मार्फत नेपाल भ्रमणमा आउने कोरियाली पर्यटक र पदयात्रीको सुरक्षा प्रत्याभूत गरिने जानकारी दिए।
सो अवसरमा कोरिया एसोसिएसन अफ नेपालका अध्यक्ष चा सिउ वनलगायत कोरियाली व्यवसायीहरूको पनि उपस्थिति थियो । कार्यक्रमको संयोजन टानका सहकोषाध्यक्ष लाक्पा टेम्बा शेर्पाले गरेका थिए ।