बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाल–भियतनाम ५० वर्षे दौत्य सम्बन्ध अवसरमा व्यवसायीबीच आर्थिक सहकार्य विस्तारमा छलफल

बिहिबार, मंसिर २५ २०८२

काठमाडाैं । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा दुवै देशका व्यवसायीबीच आर्थिक सहकार्य विस्तारका विषयमा विशेष छलफल भएको छ।

बिहीबार भियतनामको राजधानी हनोईमा भियतनाम चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसँगको अन्तरक्रियामा नेपाली व्यवसायीहरूले नेपालमा पर्यटन, जलविद्युत्, कृषि तथा हस्तकला क्षेत्रमा ठूलो लगानी सम्भावना रहेको उल्लेख गर्दै भियतनामी लगानीकर्तालाई नेपालमा प्रवेश गर्न आग्रह गरे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई देशबीच आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउँदै भियतनामी लगानीकर्तालाई नेपालमा लगानीका अवसरहरूको विस्तृत जानकारी गराए।

ढकालले नेपाल–भियतनामबीच आर्थिक सहकार्यको विशाल सम्भावना रहेको उल्लेख गर्दै भने, “नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार छ। त्यस्तै, भियतनामका कृषि उत्पादन, सी-फूड र इलेक्ट्रोनिक्सका लागि पनि नेपाल सम्भावित बजार हो।”

उनका अनुसार नेपालमा प्रत्यक्ष विदेशी लगानी (FDI) अनुकूल वातावरण बन्दै गइरहेको छ, कानुन तथा प्रक्रियामा सुधार भइरहेको छ, र सरकार विदेशी लगानी सुरक्षामा सचेत छ। विशेषगरी होटल, रिसोर्ट, केबलकार, साहसिक पर्यटन तथा वेलनेस पर्यटन क्षेत्रमा क्षेत्रीय लगानी बढिरहेको उनको भनाइ थियो।

नेपालका व्यवसायिक वातावरण नजिकबाट बुझ्न उनले भियतनामी प्रतिनिधिमण्डललाई FNCCI को आगामी साधारण सभामा सहभागी हुन निमन्त्रणा पनि दिए।

भियतनामी चेम्बरका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले नेपालसँग व्यापार तथा लगानीमा सहकार्य विस्तार गर्ने इच्छाशक्ति रहेको बताए। “दुवै देशबीच व्यापारिक गतिविधि न्यून भए पनि सम्भावना निकै ठूलो छ, र आगामी दिनमा सहकार्य अझ मजबुत हुनेछ,” उनले भने।

कार्यक्रममा थाइल्याण्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले पनि नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावना औँल्याउँदै दुई देशले आर्थिक साझेदारी विस्तार गरेर लाभ लिनुपर्ने बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।