शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ओली–विद्या एक गुटीयदेखि विपरित ध्रुवसम्म

मंगलबार, मंसिर २३ २०८२

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले कुनै बेला विष बृक्ष भनेका माधवकुमार नेपाललाई सह संयोजक बनाएर नेपाली कम्युनिस्ट पार्टीको सारथी कायम गरेका छन्। उनी अहिले माधव नेपालको प्रशंशा गरेर थाक्दैनन्।

राजनीतिमा यस्तो मोड पनि आउने रहेछ। तर, राजनीतिमा अर्को मोड पनि आउने रहेछ प्रशंशा गरेर नथाक्ने विद्या भण्डारीको आलोचनामा एमाले अध्यक्ष केपी शर्मा ओली प्रशस्त समय खर्च गर्न भ्याइरहेका छन्।

यसका अनेक घटनाक्रम र कारण देखिन्छन्।

नेकपा एमालेको ११औं महाधिवेशन संघारमा रहेका बेला अध्यक्ष ओली पूर्वराष्ट्रपति भण्डारीप्रति निक्कै असहिष्णु बनेका छन्।

उनले भण्डारीले पार्टीमा भाग खोस्न लागेको आभाष हुने प्रकारको टिप्पणी पनि गरेका छन्।

कुनै समय नेपाली राजनीतिमा ‘एक सिक्काका दुई पाटा’ मानिने ओली र भण्डारीबीचको सम्बन्ध अहिले निकै तल्लो बिन्दुमा पुगेको छ।

राष्ट्रपति हुँदा ओलीका हरेक राजनीतिक कदमलाई साथ दिएकी भण्डारीले शितल निवासबाट बाहिरिएपछि सक्रिय राजनीतिमा फर्कने संकेत गरेसँगै ओली उनीप्रति असहिष्णु देखिएका थिए।

सन् २०२४ र २०२५ का पछिल्ला घटनाक्रमहरूले उनीहरूबीचको शीतयुद्धलाई सतहमा ल्याइदिएको छ। ओलीले भण्डारीलाई पार्टी राजनीतिमा प्रवेश गर्न नदिन विभिन्न रणनीतिक र सांगठनिक तगारो खडा गरिरहेका छन्।

भण्डारीले एमालेको सदस्यता नवीकरण गरेर सक्रिय हुने चाहना व्यक्त गर्दा ओली पक्षले त्यसलाई सहज रूपमा लिएन। ओलीको प्रभाव रहेको एमाले केन्द्रीय कमिटीले “पूर्व राष्ट्रप्रमुखहरूलाई सक्रिय दलीय राजनीतिमा बन्देज लगाउने“ निर्णय गरेको थियो। यो निर्णय प्रत्यक्ष रूपमा विद्या भण्डारीलाई रोक्न लक्षित थियो।

भण्डारीको राजनीतिक शक्तिको स्रोत मानिने ‘मदन भण्डारी फाउन्डेसन’ लाई ओलीले एमालेको आधिकारिक अंग नभएको भन्दै सार्वजनिक रूपमै आलोचना गरे। यसअघि कहिल्यै प्रश्न नउठाइएको संस्थामाथि ओलीको यो प्रहार भण्डारीको ’लिगेसी’ कमजोर पार्ने रणनीति थियो।

ओलीले सार्वजनिक मञ्चहरूबाटै सांकेतिक रूपमा भण्डारीलाई चुनौती दिएका छन्। उनले फलामको च्युरा चपाउन नखोज्न वा दाँत भाँचिने जस्ता आक्रामक अभिव्यक्ति दिएर नेतृत्वमा दाबी नगर्न चेतावनी दिएको विश्लेषण गरिन्छ।

ओली किन असहिष्णु बनेका हुन्? यसका मुख्य चार कारण छन्। ओलीको यो व्यवहारका पछाडि मुख्यतयाः सत्ता संघर्ष, असुरक्षा र पार्टीभित्रको शक्ति सन्तुलनका कारणहरू जिम्मेवार छन्।

ओलीलाई राम्रोसँग थाहा छ कि एमालेभित्र उनलाई चुनौती दिन सक्ने कोही नेता छन् भने ती विद्या भण्डारी नै हुन्। मदन भण्डारीको विरासत र दुई कार्यकाल राष्ट्रपतिको अनुभवले उनलाई पार्टीभित्र एउटा बलियो खम्बा बनाएको छ।

ओलीलाई डर छ कि भण्डारीको आगमनले उनको एकलौटी नेतृत्व समाप्त हुन सक्छ र महाधिवेशनमा अध्यक्ष पद गुम्ने खतरा हुन्छ।

ओलीले एमालेमा आफ्नो पकड बलियो बनाएर ‘१० भाइ’ लगायतका विरोधी समूहलाई किनारा लगाएका छन्। तर, भण्डारीको आगमनले पार्टीभित्र असन्तुष्ट रहेका ईश्वर पोखरेल वा अन्य पुराना नेताहरूले नयाँ समूह बनाइसकेका छन्। त्यसको नेतृत्व परोक्ष रुपमा भण्डारीले गर्ने ओलीको विश्लेषण पनि मिलेको छ। यसले पार्टी फेरि विभाजन वा किचलोमा फस्न सक्ने तर्क ओली पक्षको अस्वस्थ्य तर्क छ।

आफ्नो राजनीतिक स्वार्थलाई ढाक्न ओलीले ‘नैतिकता’ को सहारा लिएका छन्।

उनले पूर्वराष्ट्रपति साझा र सम्मानित पद भएकाले फेरि पार्टीको सक्रिय राजनीतिमा आउँदा त्यो पदको गरिमा घट्ने तर्क अघि सारेका छन्। तर, विश्लेषकहरूका अनुसार यो केवल भण्डारीलाई रोक्ने बहाना मात्र हो।

कतिपय सन्दर्भमा ओलीले भण्डारीको सक्रियतालाई बाह्य शक्ति (विशेषगरी चीन वा अन्य राजनीतिक दल) को उक्साहटको रूपमा बुझेका छन्। आफूलाई कमजोर पार्न भण्डारीलाई अगाडि सारिएको भन्ने बुझाइले उनी थप आक्रामक बनेका हुन्।

हिजोका दिनमा ओलीलाई प्रधानमन्त्री बचाउन संसद विघटनसम्मको जोखिम मोल्ने विद्या भण्डारी आज ओलीसँगै आमने–सामने भएकी छिन्।