काठमाडौं । उत्तरपूर्वी जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा अहिलेसम्म कम्तीमा ३० जना घाइते भएका छन् । सोमबार राति आओमोरी क्षेत्रको तटबाट लगभग ८० किलोमिटर टाढा, ५० किलोमिटर (३१ माइल) गहिराइमा गएको भूकम्पका कारण हजारौँ मानिस घर छाड्न बाध्य भएका छन्।
भूकम्पपछि देशमा सुनामी चेतावनी जारी गरिएको थियो, तर अहिले हटाइएको छ। यद्यपि तटमा ७० सेन्टिमिटरसम्मका अग्ला छाल उठेका थिए। केही रेल सेवा रोकिएका थिए र हजारौँ घरमा बिजुली विच्छेद भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यहाँका अधिकारीहरूले आगामी दिनमा अझ शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन्। त्यसैले मानिसहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कतामा रहन भनिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार लगभग ९० हजार मानिसलाई घर छाड्न आदेश दिइएको छ।