काठमाडौं । भारतको गोवास्थित एक नाइट क्लबमा आइतबार बिहान भएको भीषण आगलागीमा परि २५ जनाको मृत्यु भएको छ, जसमा चार जना नेपाली नागरिक समेत परेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये क्लबका २० स्टाफ रहेका थिए। तीमध्ये ४ नेपाली, पाँच उत्तराखण्डका, दुई महाराष्ट्रका, दुई उत्तर प्रदेशका, तीन झारखण्डका, तीन असमका र एक पश्चिम बंगालका थिए।
आगलागीमा मृत्यु भएका नेपाली स्टाफमा चुर्णबहादुर पुन, विवेक कटुवाल, सबिन र सुदीप रहेको पुष्टि गरिएको छ। तर उनीहरूको स्थायी ठेगाना भने अझै सार्वजनिक गरिएको छैन।
त्यस्तै, क्लबमा आगलागी हुँदा मृत्यु भएका पाँच पर्यटकमध्ये चार जना दिल्ली—सरोज जोशी, अनिता जोशी, कमला जोशी र विनोद कुमार—रहेका छन् भने एक जना कर्नाटकका इशाक भएको जनाइएको छ।
गोवास्थित यो घटना अत्यन्तै दुःखद भएको जनाउँदै स्थानीय प्रशासनले आगलागीको कारणबारे थप छानबिन सुरु गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।