काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा शुक्रबार आयोजित एक समारोहबीच सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रम सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा लिमिट द स्पीड, सेभ द लाईफ भन्ने नाराका साथ सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित सडक एवम् सहज सवारी आवगमनको सन्देश प्रवाह गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र राष्ट्रिय युवा परिषद नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले लामो समय देखि अनुशासित भएर सवारी चलाउने सार्वजनिक सवारी साधनका चालकहरू लगायतलाई प्रशंसापत्र वितरण गरे । सो अवसरमा युवा तथा खेलकुद मन्त्री गुप्ताले सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित सडक एवम् सहज सवारी आवगमनको सन्देश प्रवाह गर्न आयोजित यस कार्यक्रम महत्वपूर्ण हुने चर्चा गर्नुभयो । यस्ता कार्यक्रमलाई देशभरीनै संचालन गर्नुपर्ने उल्लेख गर्दै उपल्ब्ध स्रोत साधन तथा प्रविधिको भरपुर प्रयोग र ट्राफिक प्रहरी एवम् सवारी चालकहरूबीच सकारात्मक सम्बन्धको विकास गरी सवारी दुर्घटना न्यूनीकरण गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा राष्ट्रिय युवा परिषद नेपालका उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीम ज्वाला राईले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य गरेको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले ट्राफिक व्यवस्थापन कार्य, सवारी दुर्घटनाको कारण र त्रिवर्षीय विश्लेषण, सवारी दुर्घटना न्यूनीकरणका प्रयासहरू, काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको समस्या र चुनौतीहरू लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक स्टीकर वितरण गर्नुका साथै सचेतनामूलक नृत्य समेत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायत यातायात मजदुर संघका पदाधिकारीहरू, राष्ट्रिय युवा परिषद नेपालका पदाधिकारीहरू, विभिन्न संघस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो।