बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

तीन महिनामै पाँच खर्ब ५३ अर्ब विप्रेषण

३५ प्रतिशतले आयात–निर्यात दुवै बढ्दा व्यापार घाटा अझ फराकिलो

मंगलबार, मंसिर १६ २०८२

काठमाडौँ, १६ मंसिर । चालु आर्थिक वर्षका पहिलो तीन महिनामा विदेशमा रहेका नेपालीले पठाएको विप्रेषण रकम उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सो अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई कुल रु पाँच खर्ब ५३ अर्ब ३१ करोड स्वदेश भित्रिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण वृद्धि ११.९ प्रतिशत थियो र कुल आप्रवाह रु चार खर्ब ८ अर्ब ७७ करोड रहेको थियो। चालु आवको पहिलो महिना साउनमा मात्र विप्रेषण २९.९ प्रतिशतले बढेर रु एक खर्ब ७७ अर्ब ४१ करोड पुगेको थियो। भदौमा यो वृद्धि दर ३३.१ प्रतिशतमा पुगेको छ र रकम रु तीन खर्ब ५२ अर्ब ८ करोड भित्रिएको छ।

चालु आवको पहिलो त्रैमासमा चालु खाता रु दुई खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर हाराहारी रु दुई खर्ब ६४ अर्ब तीन करोड को बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी सूचकहरू क्रमशः रु एक खर्ब १५ अर्ब ३६ करोड र रु एक खर्ब ८४ अर्ब ९९ करोड बचतमा रहेका थिए।

यसै अवधि मै कूल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई रु ७२ अर्ब ७८ करोड पुगेको छ भने कूल वस्तु आयात १९.८ प्रतिशतले बढेर रु चार खर्ब ६८ अर्ब आठ करोड मा पुगेको छ। निर्यात–आयात दुवै बढेपनि आयातको मात्रा ठूलो भएकाले कूल व्यापार घाटा १२.२ प्रतिशतले बढेर रु तीन खर्ब ९५ अर्ब ३० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।